गोरखाका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उनले सरकारमा आएको छ महिना मात्र भएको उल्लेख गर्दै जिल्लाका समस्या र नागरिकका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए।
गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गर्दै गुरुङले जिल्लाको विकास र नागरिकका समस्या समाधान गर्न काम गर्ने प्रतिबद्धता जनाएका थिए।
केही साताअघि बुढीगण्डकीको बाढीले बगाएको पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउन पहल गरेको भन्दै सहभागीहरूले उनलाई धन्यवाद दिएका थिए। पुल पुनर्निर्माणले विपद्बाट प्रभावित आवागमन सहज बनाउने उनीहरूको भनाइ थियो।
अन्तरक्रियामा सहभागीहरूले भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व चाहिएको बताएका थिए। जिल्लाको विकास, पूर्वाधार निर्माण, कृषि सुधार, पर्यटन प्रवर्द्धन र उद्योग–व्यवसायको विकासमा परिणाममुखी काम हुने उनीहरूले अपेक्षा व्यक्त गरेका थिए।





