१७ कार्तिक २०८३, सोमबार

गौतमको निधनले राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ : मुख्यमन्त्री आचार्य

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतमको निधनले राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

गौतमको तेह्रौँ दिनको पुण्यतिथिमा एमाले बाँके जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै आचार्यले उनलाई सादगीपूर्ण जीवनशैली, राजनीतिक निष्ठा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गरे। बाँकेले इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै उनले गौतमका विचार र सिद्धान्तलाई आत्मसात् गरी अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रदेश सभामा पाँच वर्ष गौतमसँग सहकार्य गरेको स्मरण गर्दै आचार्यले उनीबाट राजनीतिक जीवन, सङ्घर्ष र समाजप्रतिको समर्पणबारे धेरै कुरा सिक्न पाएको बताए। गौतमले आफूलाई अभिभावकका रूपमा मार्गदर्शन गरेको उनको भनाइ थियो।

लुम्बिनी प्रदेश र विशेषगरी बाँकेको विकास, सङ्गठन निर्माण तथा सामाजिक काममा गौतमले अतुलनीय योगदान दिएको आचार्यले बताए। गुल्मीको थोर्गामा जन्मिएका गौतमले बाँकेलाई कर्मथलो बनाएर राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने उनले उल्लेख गरे।

एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको सभामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button