कर्णालीलाई हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिगअन्तर्गत सोमबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। दोस्रो खेल खेलेको काठमाडौँले दुई बल बाँकी हुँदा १८१ रनको लक्ष्य पूरा गर्यो। कर्णालीले भने तेस्रो खेलमा पहिलो हार व्यहोरेको छ।
कर्णालीले दिएको लक्ष्य पछ्याउने क्रममा काठमाडौँले ६ विकेट गुमाएर १८१ रन बनायो। रसिद खानले ३२ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए। करण केसीले २० बलमा चार चौका र तीन छक्काको मद्दतले ४४ रन जोडे। डेभिड वार्नरले १६ रन बनाए।
कर्णालीका सोमपाल कामी र हुसेन तलातले दुई–दुई विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। अरिफुल इस्लामले २२ बलमा पाँच चौका र तीन छक्कासहित ४४ रन बनाए। हुसेन तलातले ४०, पवन सर्राफले अविजित ३०, गुल्सन झाले २० र मार्क वाटले १७ रन जोडे।
काठमाडौँका करण केसीले दुई विकेट लिए। सहाब आलम, देव साह र सन्तोष यादवले एक–एक विकेट हात पारे।





