हिमाली वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन र हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेका स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा पौडेलले यस्तो धारणा राखेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारले निरन्तर दिएको सहयोग महत्त्वपूर्ण रहेको बताए। नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन र सामाजिक–आर्थिक विकास सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गरेको सहयोगको उनले प्रशंसा गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पौडेलले स्विटजरल्याण्डका लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको पनि बताए।
भेटमा राष्ट्रिय परिषद्का अध्यक्ष पेजले हिमालमा तीव्र परिवर्तन भइरहेको र त्यसको पूर्वसूचना प्रणाली महत्त्वपूर्ण रहेको बताए। यस क्षेत्रमा स्विटजरल्याण्डले काम गरिरहेको उल्लेख गर्दै उनले नेपालसँग सहकार्य गरेर अघि बढ्ने इच्छा व्यक्त गरे।





