१७ कार्तिक २०८३, सोमबार

सीमा क्षेत्रमा अवाञ्छित गतिविधिविरुद्ध कारबाही तीव्र

ड्रागन मिडिया सम्वाददाता

सरकारले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीतिअनुसार अवाञ्छित गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। सशस्त्र प्रहरी बल, नेपालले अवैध सामान ओसारपसार, लागुऔषध कारोबार, हातहतियार तस्करी र अन्य आपराधिक गतिविधिविरुद्धका कारबाही बढाएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार वर्तमान सरकार गठन भएयता सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ। यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन्।

लागुऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट र सुईमार्फत प्रयोग गरिने लागुऔषध बरामद भएको छ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन्। यसमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रणका क्रममा दसगजाका ३५ स्थानमा रहेका २३७ संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध सुधार र जनचेतना अभिवृद्धिका लागि उक्त अवधिमा २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको सरकारले जनाएको छ। विभिन्न स्थानका १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button