एपेक शिखर सम्मेलनमा पुटिन–सी भेटको तयारी भइरहेको छ : क्रेमलिन

ड्रागन मिडिया समाचार कक्ष
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच एपेक शिखर सम्मेलनका क्रममा हुने भेटवार्ताको तयारी भइरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
“यो भेटको तयारी भइरहेको पुष्टि गर्छौँ। हामी यस भेटको प्रतीक्षामा छौँ,” पेस्कोभले भने। उनले चिनियाँ मित्रहरूसँग हुने शिखरस्तरीय भेटवार्तालाई रुसले सधैँ महत्त्वका साथ लिने पनि बताए।
एपेक सम्मेलनमा पुटिनको सहभागितासम्बन्धी कार्यक्रम अहिले तयारीकै चरणमा रहेको उनले जानकारी दिए। त्यसका लागि आयोजक र चिनियाँ पक्षसँग मुख्य रूपमा समन्वय भइरहेको पेस्कोभले बताए।
पुटिन, सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सम्मेलनका क्रममा त्रिपक्षीय भेटवार्ता हुने सम्भावनाबारे भने अहिलेसम्म कुनै ठोस विवरण उपलब्ध नभएको उनले स्पष्ट पारे।





