१९ कार्तिक २०८३, बुधबार

पुस २ देखि विराट एक्स्पोको नवौँ संस्करण

ड्रागन मिडिया सम्वाददाता

विराटनगर — उद्योग सङ्गठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म विराट एक्स्पोको नवौँ संस्करण आयोजना गर्ने भएको छ। यसपटक कोशी नदीमा पाइने डल्फिनलाई एक्स्पोको पहिचानका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले एक्स्पो उद्योगसँगै युवा, नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित हुने बताए। स्थानीय डिग्री कलेजको मैदानमा सञ्चालन हुने एक्स्पोमा घरेलु तथा औद्योगिक उत्पादन, कृषि, साना तथा मझौला उद्योग र अटोमोबाइलका सामग्री प्रदर्शनीमा राखिनेछन्।

विद्यार्थी, उद्यमी र नवप्रवर्तनमा रुचि राख्नेहरूका लागि विषयगत सत्र पनि सञ्चालन गरिने राठीले बताए। विभिन्न प्रदेशका १८ उद्योग सङ्घ–संस्थाका अध्यक्षसँग सहकार्य गरी तीन दिनसम्म विषयगत प्रस्तुति र छलफल गर्ने तयारी छ।

एक्स्पो संयोजक विपिन काबराका अनुसार ‘अवसरहरूको पर्यावरण’ मूल विषयमा आयोजना हुने प्रदर्शनी बिहान १० देखि राति ८ बजेसम्म खुला रहनेछ। नेपाल–भारत र नेपाल–बङ्गलादेशबीच व्यावसायिक भेटघाट, व्यवसायदेखि व्यवसायबीचका छलफल तथा विषयगत संवाद पनि आयोजना गरिने उनले बताए।

एक्स्पोमा २७५ वटा स्टल रहनेछन्। तीमध्ये १५० भन्दा बढी औद्योगिक तथा संस्थागत क्षेत्रका, ५० कृषि क्षेत्रका, २० अटोमोबाइलका, १२ खाद्य पदार्थका र १० व्यापार विकास सेवासम्बन्धी स्टल हुनेछन्। तीन सयभन्दा बढी कम्पनी तथा सङ्घसंस्थाको सहभागिता रहने आयोजकको अपेक्षा छ।

आयोजकले दुई लाख ५० हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गर्ने अनुमान गरेको छ। दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र लगानीयोग्य कम्तीमा २० नवप्रवर्तन तथा उद्यमशीलता परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्य पनि राखिएको छ। एक्स्पो आयोजना गर्न करिब दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button