गगनमाथिको १८ करोडको आरोप ‘ट्रेलर’ मात्रै भएको मोहन बस्नेतको दाबी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापामाथि लागेको १८ करोड रुपैयाँको आरोपलाई ‘ट्रेलर’ मात्र भएको दाबी गरेका छन्। थापामाथि पार्टीको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग आर्थिक लेनदेन गरेको आरोप लागेको छ। थापाले उक्त आरोपको खण्डन गरिसकेका छन्।
उदयपुर पुगेका बस्नेतले स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा पनि छानबिन भए थप तथ्य बाहिर आउने दाबी गरे। थापाविरुद्ध आफूले सुरुदेखि आवाज उठाउँदै आएको र अहिले पार्टीभित्र ठूलो समूह आफ्नो पक्षमा रहेको उनको भनाइ थियो।
“गगनविरुद्ध बोल्ने पहिला म एक्लो थिएँ, अहिले पार्टीभित्र ठूलो पङ्क्ति लामबद्ध भएको छ। उहाँबाट कांग्रेस जोगाउनका खातिर १८ करोड रुपैयाँको विषय आएको छ। मैले भनेँ, यो त ट्रेलर मात्रै हो। स्वास्थ्य मन्त्रालयको मात्रै कुरा बाँडफाँट निकाल्यो भने लामै कथा हुन्छ,” बस्नेतले भने।
उनले थापामाथि कांग्रेसप्रति गद्दारी गरेको आरोप लगाउँदै उनी प्रधानमन्त्री बन्न नसक्ने टिप्पणी गरे। “प्रधानमन्त्री होइन, उहाँ चाहनुभयो भने जेलको चौकीदार चाहिँ हुन सक्नुहुन्छ,” उनले भने।
बस्नेतले थापामाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे। सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभन्दा आरोपको सत्यतथ्य पत्ता लगाएर दोषी देखिएकालाई कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
“गगन थापाजीको पनि छानबिन गर्नुस्। छानबिनको प्रक्रिया पूरा गरेर, गल्ती गरेको भए कारबाही गर्नुपर्छ,” बस्नेतले भने।
कांग्रेस विभाजन भइसकेको दाबी गर्दै उनले पार्टीको आधिकारिकता आफूहरूले पाउने जिकिरसमेत गरे।





