२१ कार्तिक २०८३, शुक्रबार

बेनी बजार संरक्षणका लागि क्षतिग्रस्त तटबन्ध पुनर्निर्माण गरिने

ड्रागन मिडिया सम्वाददाता

कालीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएको बेनी बजार संरक्षण पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ। प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणमा करिब पाँच करोड रुपैयाँ खर्च लाग्नेछ।

आगामी वर्षायामअघि नदी नियन्त्रण र बजार संरक्षणको काम पूरा गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ। पुनर्निर्माणमा कम्पोजिट प्रविधिको पर्खाल बनाउने योजना छ।

बाढीले बेनी नगरपालिका–८ गणेश टोलपछाडि रहेको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नम्बर ७ मा म्याग्दी जेसीजको कार्यालयअगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षति पुर्‍याएको थियो। नदी कटानले चक्रपथसमेत प्रभावित भएको छ।

आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजार संरक्षणका लागि पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले लागत अनुमान, बजेट व्यवस्थापन र निर्माण प्रक्रिया छिटो अघि बढाउन आयोजनालाई आग्रह गरे।

आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको बताए। पछिल्लो समय थप क्षतिको विवरण आएपछि त्यसलाई अद्यावधिक गरी आवश्यक बजेट माग गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

“कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनी बजारलगायतका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर आगामी वर्षायामअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउँछौँ,” पराजुलीले भने।

यसअघि पनि सोही क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनाले कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले चक्रपथ निर्माण गरेका थिए। बाढीले ती संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माणको तयारी गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button