२१ कार्तिक २०८३, शुक्रबार

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

ड्रागन मिडिया सम्वाददाता

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको दोस्रो प्याकेजअन्तर्गत विद्युतगृह, सुरुङ र सम्बन्धित उपकरण जडानको काम करिब ८० प्रतिशत पूरा भएको छ।

दोस्रो प्याकेजको निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना बनाउन आवश्यक उत्खनन पूरा भइसकेको छ भने अधिकांश संरचनाको निर्माण पनि सम्पन्न भएको छ।

भूमिगत विद्युतगृह, निकास सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, पानी प्रवेश मार्ग, ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको पछाडिको भागमा कङ्क्रिट भर्ने काम करिब सकिएको छ। मुख्य सुरुङमा कङ्क्रिटको भित्री तह राख्ने काम अन्तिम चरणमा पुगेको भण्डारीले बताए।

विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, निगरानी क्यामेरा र ट्रान्सफर्मरलगायत विद्युत तथा यान्त्रिक उपकरण जडान र परीक्षण भइरहेको छ। वातावरणीय बहावका लागि बनाइने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी रहेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार संरचना निर्माणसँगै उपकरण जडान र परीक्षणको काम अघि बढाइएको छ। दोस्रो प्याकेजका संरचना र उपकरणको काम पूरा भएपछि विद्युत उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button