२१ कार्तिक २०८३, शुक्रबार

‘६ माया छपक्कै २’ बाट डेढ करोडसम्म घाटा हुन सक्ने निर्माता अधिकारीको अनुमान

ड्रागन मिडिया सम्वाददाता

दसैँमा प्रदर्शनमा आएको चलचित्र ‘६ माया छपक्कै २’ ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन। चलचित्र विकास बोर्डको विवरणअनुसार यसको कुल बक्स अफिस सङ्कलन अहिलेसम्म करिब साढे तीन करोड रुपैयाँ पुगेको छ।

चलचित्रका वास्तविक लगानीकर्ता निर्माता रोहित अधिकारी हुन्। अभिनेता दीपकराज गिरीले चलचित्रको असफलताको नैतिक जिम्मेवारी आफूले लिने सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर चलचित्रमा आफ्नो लगानी नभएकाले आर्थिक घाटा भने अधिकारीले व्यहोर्नुपर्ने देखिन्छ।

अधिकारीका अनुसार उनले चलचित्रमा तीन करोड ४० लाख रुपैयाँ लगानी गरेका थिए। बक्स अफिस र विदेशमा बिक्री भएका प्रदर्शन अधिकारबाट आउने रकमसमेत जोड्दा आफ्नो हातमा करिब दुई करोड रुपैयाँ पर्ने अनुमान उनले गरेका छन्। अहिलेसम्म विदेशमा प्रदर्शन अधिकार बिक्रीबाट करिब ६५ लाख रुपैयाँ पाएको र थप रकम प्राप्त हुन सक्ने उनले बताए। उनका अनुसार यो हिसाबमा चलचित्रबाट डेढ करोड रुपैयाँसम्म घाटा हुन सक्छ।

सम्झौताअनुसार चलचित्रको नाफाबाट दीपकराजले ६० प्रतिशत र अधिकारीले ४० प्रतिशत पाउने व्यवस्था थियो। दीपकराज, दीपाश्री र केदार घिमिरे (माग्ने बुढा) लगायतको पारिश्रमिक पनि नाफाको हिस्साभित्रै समेटिने सहमति भएको अधिकारीले बताएका छन्। चलचित्रको डिजिटल अधिकार र प्रतिलिपि अधिकार दीपकराजसँग रहने सहमति भएको तथा लगानी भने आफूले एक्लै गरेको उनको भनाइ छ।

डिजिटल अधिकार बिक्रीबारे भने अधिकारीले असन्तुष्टि नरहेको बताएका छन्। उनका अनुसार दीपकराजले चलचित्रमा एक वर्षभन्दा बढी समय मेहनत गरेकाले डिजिटल अधिकारबाट आउने निश्चित रकम पारिश्रमिकका रूपमा लिनु सहमतिअनुरूप थियो। अधिकारीको अनुमानमा डिजिटल अधिकारबाट दीपकराजले करिब एक करोड रुपैयाँ पाएका छन्। यसअघि चलचित्र ‘माइतीघर’को डिजिटल अधिकार ओएसआरलाई ८५ लाख रुपैयाँमा बिक्री गरिएको आधारमा उनले यस्तो अनुमान गरेको बताए।

अधिकारीले चलचित्रमा राखिएका विज्ञापनबारे आफूलाई जानकारी नदिइएको गुनासो गरेका छन्। उनका अनुसार चलचित्रमा आईएमई र टाटा टीका विज्ञापन राखिए पनि सम्झौता कसरी भयो र कति रकममा भयो भन्नेबारे आफूलाई जानकारी छैन। विज्ञापनबाट प्राप्त रकम लगानीकर्ताले पाउनुपर्ने उनको भनाइ छ।

चलचित्र विकास बोर्डमा चलचित्र ‘रोहित अधिकारी फिल्म्स’को नाममा दर्ता भए पनि सुरुमा निर्माताका रूपमा आफ्नो नाम नराखिएको अधिकारीले दाबी गरेका छन्। चलचित्र सेन्सरका लागि पुगेका बेला आफ्नो नाम नदेखेपछि बाहिरिएको र पछि नाम थपिएको उनले बताएका छन्।

विदेशमा प्रदर्शन अधिकार बिक्रीबारे पनि अधिकारीले प्रश्न उठाएका छन्। युरोपको अधिकार बिक्री गर्दा आफूले हस्ताक्षर गरेको, तर अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र मध्यपूर्वका अधिकार बिक्रीका कागजातमा आफ्नो हस्ताक्षर नभएको उनको दाबी छ। आफ्नो कार्यालयको छाप प्रयोग गरिएको भए पनि आफूले हस्ताक्षर नगरेको उनले बताए।

अधिकारीका अनुसार अमेरिका, अस्ट्रेलिया, कोरिया, मध्यपूर्व, बेलायत, क्यानडा, जापान र अन्य स्थानका अधिकार बिक्रीबाट डेढ करोड रुपैयाँभन्दा बढीको सम्झौता भएको छ। तीमध्ये अहिलेसम्म करिब ६५–६६ लाख रुपैयाँ मात्र प्राप्त भएको उनले बताएका छन्।

‘६ माया छपक्कै ३’ निर्माण गर्ने घोषणा भइसकेको छ। चलचित्रको प्रतिलिपि अधिकार दीपकराजसँग रहेकाले अर्को शृङ्खला पनि उनले नै बनाउने अधिकारीको भनाइ छ।

अधिकारीले उठाएका विषयमा प्रतिक्रिया लिन खोज्दा दीपकराज गिरीसँग सम्पर्क हुन सकेन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button