२३ कार्तिक २०८३, आईतवार

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो

ड्रागन मिडिया सम्वाददाता

मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा शनिबार नवलपुर आइपुगेको छ। बागलुङ र पोखरालगायत देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गर्दै पूर्वको मेची पुगेको रथयात्रा अहिले पश्चिमतर्फ अघि बढिरहेको छ।

रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार नेपालका पौराणिक तीर्थस्थलको प्रचार, धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता सुदृढीकरण र सनातन वैदिक संस्कृतिको संरक्षण यसको मुख्य उद्देश्य हो। त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्य पनि अभियानले अघि सारेको उनले बताए।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा सुरु भएको रथयात्रा पश्चिमको महाकालीसम्म पुगेर फर्किएपछि कात्तिक ३० मा नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा विश्राम गर्ने कार्यक्रम छ। रथयात्राका क्रममा मुक्तिनाथको पवित्र जल र प्रसाद वितरण भइरहेको आयोजकले जनाएको छ।

रथयात्रा विश्रामपछि मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना गरिनेछ। महायज्ञको तयारी र मुक्तिक्षेत्रको प्रचारका लागि कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म रथयात्रा सञ्चालन गरिएको प्रवक्ता प्रपन्नाचार्यले बताए।

रथयात्राले धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, धार्मिक एकता र सहिष्णुताको सन्देश फैलाउने तथा मुक्तिनाथ, शालिग्राम र गण्डकी क्षेत्रको महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य राखेको स्वामी कमलनयनाचार्यले बताए। शनिबार नवलपुर पुगेको रथयात्रालाई स्थानीय श्रद्धालुले स्वागत गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button