बराहतालका दुई सामुदायिक वनमा १४ भरुवा बन्दुक फेला

ड्रागन मिडिया सम्वाददाता
सुर्खेतको बराहताल गाउँपालिका–५ र ७ का सामुदायिक वनमा लुकाइराखिएको अवस्थामा १४ थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बराहताल–५ स्थित साजघारी सामुदायिक वनबाट चारवटा साबुत बन्दुक र दुईवटा नाल गरी छ थान फेला परेका छन्। झाडीमा बन्दुक लुकाइएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा टोली खोजतलासमा गएको थियो।
त्यसैगरी, बराहताल–७ को स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट पाँचवटा साबुत बन्दुक र तीनवटा बेसाबुत बन्दुक फेला परेको प्रहरीले जनाएको छ। उक्त वनमा पनि बन्दुक लुकाइएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
बरामद बन्दुक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ। प्रहरीले ती हतियार कसले र के प्रयोजनका लागि वनमा लुकाएको हो भन्नेबारे अनुसन्धान अघि बढाएको जनाएको छ।





