सिमकोटका १,६०० विद्यार्थीलाई न्यानो कपडा वितरण

ड्रागन मिडिया सम्वाददाता
हुम्लाको सिमकोट गाउँपालिकाका २० विद्यालयमा अध्ययनरत १,६०० विद्यार्थीलाई चिसोबाट जोगाउन ज्याकेट, जुत्ता र मोजा वितरण गरिएको छ। विद्यालयमा नियमित उपस्थिति बढाउने उद्देश्यले कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र गाउँपालिकाको लागत साझेदारीमा न्यानो कपडा उपलब्ध गराइएको हो।
गाउँपालिकाका १६ सामुदायिक र चार संस्थागत विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरिएको कर्मफ्लाइट्स फाउन्डेसनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले बताए। वार्म नेस्ट फाउन्डेसनको आर्थिक सहयोगमा नेपाली उद्योगमा तयार गरिएका सामग्री विद्यालयमै पुगेर बाँडिएको थियो।
कपडा खरिदका लागि कर्मफ्लाइट्स फाउन्डेसनले रु २५ लाख र गाउँपालिकाले रु पाँच लाख खर्च गरेका छन्। पोखरा र नेपालगञ्ज हुँदै सिमकोटसम्म ढुवानीको व्यवस्था गाउँपालिकाले गरेको थियो।
गाउँपालिकामा आधार विकास नेपालमार्फत सहयोग पाउँदै आएका वडा नम्बर ७ र ८ का चार विद्यालयका विद्यार्थीलाई भने यो वितरणमा समेटिएको छैन। ती विद्यालयमा कर्णाली माध्यमिक विद्यालय, सैपाल हिमाल माध्यमिक विद्यालय, बलभद्र आधारभूत विद्यालय र कान्ति आधारभूत विद्यालय छन्।





