बहुवर्षीय बजेट स्वीकृतिपछि आदिवासी स्मृति रङ्गशाला निर्माण अघि बढ्ने

ड्रागन मिडिया सम्वाददाता
झापाको कमल गाउँपालिका–५ मा प्रस्तावित आदिवासी स्मृति रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले रु ३० करोडको बहुवर्षीय योजना स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ मा रु तीन करोड विनियोजन भएपछि निर्माणको प्रारम्भिक काम अघि बढ्ने भएको छ।
रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईका अनुसार चालु वर्षको बजेटबाट विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र पूर्वाधार निर्माण सुरु गर्ने निर्णय भएको छ। कमल गाउँपालिकाका अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बसेको संयुक्त बैठकले बजेट कार्यान्वयनको तयारी अघि बढाउने निर्णय गरेको उनले बताए।
बैठकमा सघन सहरी विकास कार्यालय, भद्रपुर; पाथीभरा सशस्त्र प्रहरी तालिम केन्द्र; पूर्वाधार विकास कार्यालय, भद्रपुर; गाउँपालिका र आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए। बाँकी रकम आगामी दुई आर्थिक वर्षमा विनियोजन गर्ने सङ्घीय सरकारको प्रतिबद्धता रहेको राईले जानकारी दिए।
तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले २०६७ वैशाखमा रङ्गशालाको शिलान्यास गरेकी थिइन्। तर निर्माणस्थलमा रहेका ९०० भन्दा बढी आदिवासी जनजातिका चिहान हटाउने विषय र प्रस्तावित नाम परिवर्तनलाई लिएर विवाद भएपछि आयोजना अघि बढ्न सकेको थिएन।
सुरुमा रङ्गशालाको नाम “आदिवासी स्मृति रङ्गशाला” प्रस्ताव गरिएको थियो। पछि त्यसको नाम “मदन भण्डारी रङ्गशाला” राख्ने प्रयास भएपछि राजनीतिक विवाद चर्किएको थियो। बहुवर्षीय योजना स्वीकृत भएपछि लामो समयदेखि रोकिएको निर्माण अघि बढ्ने अपेक्षा गरिएको छ।





