एआई युगको दुष्प्रचार रोक्न तीन उपायमा जोड

ड्रागन मिडिया समाचार कक्ष
कृत्रिम बुद्धिमत्ताबाट तयार हुने भ्रामक सामग्री र डीपफेकको बाढी सामना गर्न म्यानुअल जाँच मात्र पर्याप्त नहुने भन्दै ग्लोबल फ्याक्ट चेकिङ नेटवर्कका उपाध्यक्ष दानिल बिस्लिङ्गरले विश्वासको साझा प्रणाली विकास गर्नुपर्ने बताएका छन्। त्यसका लागि सार्वजनिक मिडिया साक्षरता विस्तार, सामग्रीमा लुकेका हेरफेर पत्ता लगाउने प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्ने उनको प्रस्ताव छ।
मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सामूहिक सुरक्षा मञ्चको ‘सामूहिक सुरक्षाको स्रोतका रूपमा विश्वास : सूचना प्रमाणीकरण’ सत्रमा बोल्दै बिस्लिङ्गरले न्युरल नेटवर्कको विकाससँगै सामग्री उत्पादन सस्तो, सहज र तीव्र भएको बताए। यस्तो अवस्थामा भ्रामक सामग्रीको प्रवाहसँगै दौडिनुभन्दा विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार आज राष्ट्रिय सुरक्षाजत्तिकै महत्त्वपूर्ण विषयका रूपमा संज्ञानात्मक सार्वभौमिकता र सूचना व्यवस्थापन अघि आएका छन्। नागरिकलाई सञ्चारमाध्यमसम्बन्धी साक्षर बनाउने, सामग्रीमा गरिएका सूक्ष्म हेरफेर पहिचान गर्न एल्गोरिदम प्रयोग गर्ने र देशहरूबीच संस्थागत सहकार्य बढाउने उपायलाई उनले प्रस्तावित रणनीतिका तीन आधारका रूपमा प्रस्तुत गरे।
विश्वव्यापी पहुँच विस्तार गर्ने क्रममा नेटवर्कले हालै मध्यपूर्वमा जीएफसीएन इन्टरनेसनल कार्यालय स्थापना गरेको र एसिया प्रशान्त समाचार एजेन्सी सङ्गठनसँग सहकार्य समझदारीमा हस्ताक्षर गरेको जनाएको छ।
गोलमेच छलफलका सञ्चालक तथा रूसी पत्रकार सङ्घका सचिव तिमुर शफिरले विभिन्न क्षेत्रका विज्ञलाई छलफलमा सहभागी गराएका थिए। अमेरिकी सूचना प्रविधि परामर्शदाता जोसेफ शुट्जम्यानले कृत्रिम बुद्धिमत्तामा देखिन सक्ने पक्षपात र आधारहीन निष्कर्षबारे ध्यानाकर्षण गराए। प्रारम्भिक विश्लेषण स्थानीय कृत्रिम बुद्धिमत्ता प्रणालीबाट गराउन सकिने भए पनि अन्तिम निर्णय मानव विज्ञले गर्नुपर्ने उनको सुझाव थियो।
टास डिजिटल विकास निर्देशक किरिल सिदोरोभले ठूलो तथ्याङ्कमा असामान्यता पत्ता लगाउन एल्गोरिदम प्रभावकारी हुँदै गएको बताए। तर समाचारको सत्यता पुष्टि गर्ने अन्तिम निर्णय सम्पादककै जिम्मेवारी रहने उनले उल्लेख गरे।
पाराग्वेका स्वतन्त्र पत्रकार मौरिसियो काबालेरोले आफ्नो देशको पछिल्लो बैंकिङ सङ्कटको उदाहरण दिँदै दुष्प्रचार अभियानले पार्न सक्ने गम्भीर असरबारे चर्चा गरे। उनले यस्ता अभियानलाई वित्तीय आतङ्कवादसँग तुलना गर्दै घटनाको वास्तविक सन्दर्भ बुझ्न स्थानीय स्रोतमा भर पर्नुपर्ने बताए।
छलफलका सहभागीले विश्वव्यापी सङ्कटका बेला विभिन्न देशले स्वतन्त्र रूपमा गरेको तथ्य जाँचको नतिजा पारदर्शी र छिटो आदानप्रदान गर्नु समाजको सुरक्षाका लागि महत्त्वपूर्ण हुने निष्कर्ष निकाले।
टास समाचार एजेन्सी, एएनपीओ डायलोग रिजन र न्यु मिडिया स्कुलको पहलमा स्थापना गरिएको ग्लोबल फ्याक्ट चेकिङ नेटवर्कमा ५५ देशका १३० भन्दा बढी विज्ञ आबद्ध रहेको जनाइएको छ।





