प्रधानमन्त्रीले भारत भ्रमणमा सीमा समस्या उठाउनुपर्छः पोखरेल

ड्रागन मिडिया सम्वाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति व्यवहारबाट सच्याउनुपर्ने धारणा राखे।
नेपाल र भारतका दस्तावेजमा सीमा समस्या अभिलेखित रहेको उल्लेख गर्दै पोखरेलले यसको समाधानका लागि सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्ने बताए। प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाइने अपेक्षा रहेको उनको भनाइ थियो।
संसद्मा पहिलोपटक सम्बोधन गर्दा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारतको जमिन मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएको पोखरेलको आरोप छ। उक्त अभिव्यक्ति प्रधानमन्त्रीले हालसम्म सच्याउनुपर्ने गरी स्पष्ट पारेका छैनन् भन्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको प्रसंग उल्लेख गर्दै पोखरेलले ऐतिहासिक विषयसँगै नेपालको वर्तमान सीमाङ्कनको संरक्षणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। वर्तमान सीमाको रक्षा गर्नु सरकारको जिम्मेवारी भएको उनले उल्लेख गरे।
पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीको पनि आलोचना गरे। आफ्नै दलसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षी दलसँग संवादको अपेक्षा गर्न नसकिने उनको टिप्पणी थियो।





