लुम्बिनी कांग्रेसमा नयाँ नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै गर्दा प्रदेश नेतृत्वका आकाङ्क्षी नेताहरूले आन्तरिक तयारी तीव्र पारेका छन्। प्रदेश सभापति अमरसिंह पुनले पुनः नेतृत्वमा नदोहोरिने घोषणा गरेपछि सभापति पदका लागि चार जना नेता आकाङ्क्षी देखिएका छन्।
अधिवेशनको मिति र निर्वाचन कार्यतालिका भने सार्वजनिक भइसकेको छैन। पुनका अनुसार अधिवेशन मंसिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म हुन सक्छ। प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारणका लागि केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन समितिलाई जिम्मेवारी दिन सक्ने उनले बताए।
सभापति पदका आकाङ्क्षीमा प्रदेशका वर्तमान उपसभापति राजु खनाल र भुवनप्रसाद श्रेष्ठ, महामन्त्री सुरेन्द्रराज आचार्य तथा प्रदेशसभा सदस्य वीरबहादुर राना छन्। उनीहरू केन्द्रीय नेतासँग परामर्श, जिल्ला भ्रमण र प्रदेश प्रतिनिधिसँग भेटघाट गर्दै समर्थन जुटाउने प्रयासमा छन्।
खनालले सभापति पदमा उम्मेदवारी दिने विषयमा केन्द्रीय नेताहरूलाई जानकारी गराइसकेको बताएका छन्। उनले विभिन्न जिल्लामा कार्यकर्ता भेटिरहेको र प्रदेशमै रहेर नेतृत्व गर्न आफू इच्छुक भएको बताए। अर्का उपसभापति श्रेष्ठले पनि उम्मेदवारीको तयारीबारे केन्द्रीय नेताहरूलाई जानकारी गराएको र कार्यकर्ता तथा नेतासँग छलफल गरिरहेको बताएका छन्।
महामन्त्री आचार्यले शीर्ष नेतासँगको परामर्शमा आफ्नो तयारी अघि बढाएको बताएका छन्। रानाले पनि सभापति बन्ने विषयमा साथीहरूसँग सल्लाह गरिरहेको बताएका छन्।
प्रदेश महामन्त्री पदका लागि वर्तमान कोषाध्यक्ष प्रकाश राना, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्युठानका विष्णु गिरी, अर्घाखाँचीका केशव श्रेष्ठ र बाँकेकी अञ्जना पाण्डेय आकाङ्क्षी रहेको कांग्रेसका नेता तथा कार्यकर्ताले बताएका छन्।
प्रकाश रानाले महामन्त्री पदमा उम्मेदवारीको तयारी गर्दै जिल्ला भ्रमण गरिरहेको बताए। सर्वसम्मति हुन नसके निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको भनाइ छ। पोखरेलले प्रदेश प्रतिनिधिसँग प्रत्यक्ष र फोनमार्फत संवाद गरी समर्थन मागिरहेको बताएका छन्। अन्य आकाङ्क्षी पनि आन्तरिक छलफल र भेटघाटमा सक्रिय छन्।
प्रदेश अधिवेशनको मिति नतोकिए पनि नेतृत्वका आकाङ्क्षीहरूबीचको सक्रियताले लुम्बिनी कांग्रेसमा चुनावी सरगर्मी बढेको छ। यद्यपि, आकाङ्क्षीहरू तत्काल प्यानल बनाएर अघि बढ्ने पक्षमा देखिएका छैनन्।
प्रदेश सभापति पुनले नयाँ नेतृत्व सहमतिमै चयन गर्ने प्रयास हुने बताएका छन्। सभापति पदमा सहमति जुटे अन्य पदमा पनि सहमति गर्न सहज हुने उनको भनाइ छ। महामन्त्री पदका आकाङ्क्षी प्रकाश राना र सभापतिका आकाङ्क्षी भुवन श्रेष्ठले पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको बताएका छन्। सहमतिको प्रयास गर्दा भूगोल र पार्टीमा गरेको योगदानलाई ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ।





