पत्रकार सुरक्षा प्रतिवेदनमा केही नाम छुटेको भन्दै युनेस्कोसँग स्पष्टीकरण माग

ड्रागन मिडिया समाचार कक्ष
रुसी पत्रकार संघ (आरयूजे)ले सन् २०२४–२०२५ को पत्रकार सुरक्षा प्रतिवेदनमा मारिएका केही रुसी सञ्चारकर्मीको नाम समावेश नभएको भन्दै युनेस्कोसँग स्पष्टीकरण मागेको छ।
संघले नोभेम्बर १६ मा युनेस्कोका महानिर्देशक खालेद एल-एनानीलाई खुला पत्र पठाउँदै पत्रकारको मृत्युबारे सूचना प्रमाणीकरण गर्ने प्रक्रिया र आधिकारिक तथ्याङ्कमा घटना समावेश वा बहिष्कार गर्ने मापदण्डबारे प्रश्न उठाएको हो। पत्रमा निकिता गोल्डिन, अलेक्जान्दर मार्तेम्यानोभ, सेम्योन येर्योमिन र युलिया कुज्नेत्सोभाका घटनालाई उल्लेख गरिएको छ।
पत्रमा उद्धृत प्रतिवेदनअनुसार उक्त अवधिमा पत्रकार तथा सञ्चारकर्मीका १८९ हत्या युनेस्कोबाट प्रमाणित भएका छन्। तीमध्ये १२७ घटना सशस्त्र द्वन्द्व प्रभावित देशमा भएका थिए। आरयूजेले यी सङ्ख्या युनेस्कोको प्रमाणीकरण प्रक्रिया पार गरेका घटनाको मात्र भएको र दुई वर्षमा ज्यान गुमाएका सबै सञ्चारकर्मीको पूर्ण विवरण नहुन सक्ने जनाएको छ।


संघले स्वतन्त्र प्रमाणीकरणको आवश्यकता स्वीकार गरेको छ र सरकारी वक्तव्यलाई त्यसको विकल्प बनाउन नहुने बताएको छ। तर, घटनाको समावेश वा बहिष्कारमा समान र वस्तुनिष्ठ मापदण्ड अपनाउन, बहिष्कारको कारण खुलाउन र नयाँ प्रमाणका आधारमा निर्णय पुनरावलोकन गर्न पाउने व्यवस्था गर्न उसले आग्रह गरेको छ।
युनेस्कोका अनुसार पत्रकारको हत्या भएको आशङ्कासम्बन्धी सूचना सचिवालयमा पुगेपछि निगरानी र प्रमाणीकरण प्रक्रिया अघि बढ्छ। प्रेस स्वतन्त्रता, सञ्चारमाध्यम तथा मानवअधिकारसम्बन्धी संस्थासहितका विभिन्न स्रोतसँग सूचना रुजु गरिन्छ। मापदण्ड पूरा नगरेका घटना पनि निगरानीमा रहन्छन् र नयाँ प्रमाण भेटिए विवरण अद्यावधिक गर्न सकिन्छ। महानिर्देशकले अनुसन्धानको आह्वान गरेका वा समवेदना व्यक्त गरेका घटनालाई सार्वजनिक निगरानी सूचीमा राखिन्छ।
बहिष्कृत वा प्रमाणीकरणको प्रतीक्षामा रहेका घटनाबारे सार्वजनिक स्पष्टीकरण नहुँदा कुनै मृत्यु पुष्टि नभएको हो वा घटना नै नभएको हो भन्ने छुट्याउन कठिन हुने आरयूजेले जनाएको छ। उसले पत्रमा उल्लेखित घटनाबारे युनेस्कोसँग स्पष्ट जवाफ माग्दै प्रमाणीकरण र पुनरावलोकन प्रक्रियालाई थप पारदर्शी बनाउन आग्रह गरेको छ।





