१ मंसिर २०८३, सोमबार

अमेरिका नेतृत्वको प्रविधि सहकार्यअन्तर्गत १० देशद्वारा स्यान फ्रान्सिस्को घोषणा

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकासहित १० देशले रणनीतिक प्रविधि, महत्त्वपूर्ण पूर्वाधार र आपूर्ति शृङ्खलाको सुरक्षा गर्न स्यान फ्रान्सिस्को घोषणा गरेका छन्। नोभेम्बर १५ मा अमेरिकाको स्यान फ्रान्सिस्कोमा आयोजित ‘प्याक्स सिलिका फाउन्डर्स रिट्रिट’का क्रममा घोषणा गरिएको हो। यो नयाँ गठबन्धन नभई अमेरिकाले नेतृत्व गरेको विद्यमान प्याक्स सिलिका पहलअन्तर्गतको सहकार्य हो।

घोषणामा अमेरिका, अस्ट्रेलिया, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कतार, सिंगापुर, संयुक्त अरब इमिरेट्स र बेलायत सहभागी छन्। सहभागी देशहरूले आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षाको आधार भएको र त्यसलाई कुनै एउटा देशले एक्लै सुनिश्चित गर्न नसक्ने बताएका छन्।

घोषणाले भविष्यको ‘सुपर इन्टेलिजेन्स’ प्रविधिसँग सम्बन्धित आपूर्ति शृङ्खलालाई आवश्यक पर्ने संवेदनशील प्रविधि र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। संवेदनशील प्रविधिअन्तर्गत सफ्टवेयर, सामग्री, प्राविधिक ज्ञान, उपकरण, पुर्जा, उत्पादनका सामग्री र तिनको निर्माण क्षमता समेटिएका छन्। यस्ता वस्तु वा ज्ञानको चोरी अथवा अनधिकृत हस्तान्तरणले सैन्य वा गुप्तचरी लाभ दिन अथवा आर्थिक दबाब सिर्जना गर्न सक्ने घोषणामा उल्लेख छ।

महत्त्वपूर्ण पूर्वाधारको परिभाषामा बन्दरगाह, टर्मिनल, यातायात, सञ्चार तथा ढुवानी सञ्जाल, सूचना तथा सञ्चार प्रविधि, ऊर्जा प्रणाली र तिनको सञ्चालनमा सहयोग गर्ने डिजिटल प्लेटफर्म समेटिएका छन्। यी प्रणालीमा अवरोध, बाह्य नियन्त्रण वा तथ्याङ्कको अनधिकृत पहुँचले ठूलो क्षति पुर्‍याउन सक्ने सहभागी देशहरूको भनाइ छ।

घोषणाका उद्देश्य कार्यान्वयन गर्न पाँचवटा कार्यगत समूह गठन गर्ने प्रस्ताव गरिएको छ। ती समूहले नवप्रवर्तनमैत्री नीतिगत संरचना, प्रमुख क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, प्रविधि आपूर्ति शृङ्खलामा सहकार्य, सुरक्षित लगानी तथा आपूर्ति केन्द्रको विकास र प्रविधि सुरक्षासँगै आपूर्ति शृङ्खलाको लचिलोपनमा काम गर्नेछन्।

सहभागी देशहरूले अत्यधिक निर्भरता घटाउन विविध र विश्वसनीय आपूर्ति शृङ्खला निर्माण गर्ने तथा आर्थिक दबाब, आपूर्ति अवरोध र बजारलाई विकृत गर्ने नीतिगत अभ्यासको सामना गर्न समन्वय गर्ने प्रतिबद्धता पनि जनाएका छन्। घोषणामा चीनको नाम स्पष्ट रूपमा उल्लेख छैन। यद्यपि, अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर र अत्याधुनिक कम्प्युटिङमा बढ्दो प्रतिस्पर्धाका कारण यस सहकार्यलाई चीनमाथिको प्रविधिगत निर्भरता घटाउने अमेरिकी प्रयासका रूपमा पनि हेरिएको छ।

घोषणामा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिएको छ। त्यसको पादटिप्पणीमा केही सहभागी देशले यसलाई कृत्रिम बुद्धिमत्ताकै अर्थमा प्रयोग गर्ने उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button