१ मंसिर २०८३, सोमबार

खराब कर्जा असुलीमा जोड दिन अर्थमन्त्री वाग्लेको निर्देशन

ड्रागन मिडिया सम्वाददाता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय अनुशासन कायम राख्न निर्देशन दिएका छन्। बैंकको ९०औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे।

वाग्लेले बैंकले सुशासनका उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज सेवा दिनुपर्ने बताए। सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न उनले बैंकलाई आग्रह गरे।

बैंकका कामकारबाही पारदर्शी बनाउन, जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न र तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। आगामी दिनमा डिजिटल बैंकिङ विस्तार, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच, हरित अर्थतन्त्र प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ सेवाको सुरुआत गरेको संस्थाका रूपमा नेपाल बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणमा योगदान दिएको बताए। औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा पनि बैंकको भूमिका रहेको उनले उल्लेख गरे।

पाण्डेयका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ छ। निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको बैंकमा २९ लाख २४ हजार ग्राहक र तीन हजार ६०० कर्मचारी छन्।

बैंकका २५० एटीएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक १० लाख पुगेका छन्। बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको पाण्डेयले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button