मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु

ड्रागन मिडिया सम्वाददाता
मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेपछि सम्पन्न भएको छ।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यको सत्सङ्कल्पमा सुरु भएको रथयात्राले देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गरेको थियो। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए।
“देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ,” उनले भने। रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको उनले बताए।
रथयात्रा सम्पन्न भएसँगै त्रिवेणीधाममा आजदेखि एकमहिने महायज्ञ सुरु हुँदैछ। पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलशयात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए।
कलशयात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरेर यज्ञस्थल पुग्नेछ। त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्यापूजा र दीप प्रज्वलन गरिनेछ। बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन र भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिनेछ।
“प्राकृतिक विपद, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि, कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो,” उनले भने। उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप र ध्यान गर्न भक्तजनलाई आग्रह गरे।





