२ मंसिर २०८३, मंगलवार

करोडौँ खर्चिएको कान्ति ताल बेवास्तामा, झाडीले ढाकियो परिसर र भत्किए संरचना

ड्रागन मिडिया सम्वाददाता

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्चेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले ठूलो लगानीमा बनाएका संरचना भत्किएका छन् भने ताल परिसर झाडी र बुट्यानले ढाकिँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल क्षेत्रमा पर्यटक आकर्षित गर्न बनाइएका रेलिङलगायतका पूर्वाधार क्षतिग्रस्त छन्। सामान्य मर्मतसम्भारसमेत नहुँदा लगानीअनुसार प्रतिफल नपाइएको स्थानीयको गुनासो छ।

नेपालगञ्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताए। “कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो। तर अहिले यहाँका संरचना भत्किएका छन् र झाडी बढेको छ। संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन,” उनले भने।

थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो। विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण हुन नसक्दा यसको पर्यावरणीय महत्व जोखिममा परेको उनले बताए। तालको प्राकृतिक स्वरूप जोगाउन सके पर्यटन प्रवर्द्धनसँगै जैविक विविधता संरक्षणमा पनि योगदान पुग्ने उनको भनाइ छ।

पर्यावरण तथा चरा संरक्षणमा सक्रिय अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउन माग गर्दै आएका छन्। आवश्यक संरक्षणका काम नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतामा जिम्मा लिएका फनबहादुर गुरुङले पनि परिसरका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको बताए। “लागुऔषध प्रयोगकर्ताले संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ। संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ,” उनले भने।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे। सम्बन्धित सरोकारवालासँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको उनले बताए।

“विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन्। अब सम्बन्धित निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ,” रिजालले भने।

उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण गरिएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ। सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा ताल विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। “कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो। यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन। भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ,” उनले भने।

स्थानीयले पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button