छेन्दुमा गार्जे क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शित

ड्रागन मिडिया समाचार कक्ष
सिचुआन प्रान्तको छेन्दुमा नोभेम्बर १४ मा गार्जे क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी कलाकृति प्रदर्शनी र मिफामको बौद्ध दर्शनबारे गोष्ठी आयोजना गरिएको छ। ‘पूर्वजहरूलाई श्रद्धाञ्जली, परम्परागत संस्कृतिको संरक्षण’ नारासहितको कार्यक्रम गार्जे क्षेत्रीय जातीय लोकहस्तकला तथा अमूर्त सांस्कृतिक सम्पदा संघको आयोजनामा भएको हो। सेरशुल काउन्टीको मिफाम संस्कृति संरक्षण तथा विकास संघ र छेन्दु मिफाम स्वर्णलेखन प्रतिष्ठानले सहकार्य गरेका थिए।


प्रदर्शनीमा विद्वान् मिफाम जामयाङ नामग्याल ग्यात्सोको जीवनमा आधारित थाङ्का शृङ्खला पहिलोपटक सार्वजनिक गरिएको आयोजकले जनाएको छ। प्रदेशस्तरमा मान्यता प्राप्त ‘नाम्खा ग्याल थाङ्का’ कलाका प्रतिनिधि उत्तराधिकारी खेद्रुप निमासहितको टोलीले तीन वर्ष लगाएर ती चित्र तयार पारेको थियो। कलात्मक विशेषता र सांस्कृतिक विषयवस्तुले समृद्ध उक्त शृङ्खलाले मिफामको जीवन र योगदान प्रस्तुत गर्छ।


छेन्दु मिफाम स्वर्णलेखन प्रतिष्ठानले मिफाम जामयाङ नामग्याल ग्यात्सोका संकलित कृतिहरूलाई सुनलेखमा उतार्ने बृहत् परियोजनाका केही नमुना पनि प्रदर्शन गरेको थियो। तिब्बती कागज र शुद्ध सुनको मसी प्रयोग गरी तयार गरिएका लेखनमा हिमाली क्षेत्रका विभिन्न परम्परागत लिपि तथा हस्तलेखन शैली समेटिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा थाङ्कासँगै सुनलेपनयुक्त कांस्य शिल्प, काठमा छाप कुँद्ने कला, तिब्बती धूप, बुनाइ र तिब्बती माटाका भाँडाकुँडालगायत हस्तकलाका सामग्री पनि राखिएका थिए। प्रदर्शनीले गार्जे क्षेत्रका परम्परागत हस्तकलाकारको शीप र सिर्जनात्मकता प्रस्तुत गर्नुका साथै आगन्तुकलाई अमूर्त सांस्कृतिक सम्पदाबारे प्रत्यक्ष जानकारी दिएको थियो।

गोष्ठीमा विभिन्न क्षेत्रबाट आएका विद्वान्ले मिफामको जन्मको १८०औँ वार्षिकोत्सवका अवसरमा उनका ३२ खण्डका संकलित कृति र दशविद्यामा दिएको योगदानबारे छलफल गरेका थिए। वक्ताहरूले बौद्ध दर्शन, विशेषतः सूत्र र तन्त्रसहित परम्परागत ज्ञानका विभिन्न क्षेत्रको संरक्षण तथा विकासमा मिफामले पुर्याएको योगदानको चर्चा गरे। तिब्बती र चिनियाँ सांस्कृतिक आदानप्रदानमा पनि उनको भूमिका महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।
आयोजकका अनुसार प्रदर्शनी र गोष्ठीले विभिन्न जातीय समुदायबीच सांस्कृतिक आदानप्रदान बढाउन तथा परम्परागत कलाको संरक्षण र समसामयिक विकासलाई प्रोत्साहन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।





