पाँचखालको रिसोर्टबाट ३६ चिनियाँ नागरिक नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७, शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक लगिएको प्रहरीले जनाएको छ।
रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जाँच गरेको थियो। नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र पाँच जना महिला छन्।
जाँचका क्रममा रिसोर्टका दुई कोठामा ठूलो सङ्ख्यामा ल्यापटप र मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। ती उपकरणको प्रयोजन र रिसोर्टमा भइरहेको गतिविधिबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले अनुसन्धान पूरा हुनुअघि उनीहरूमाथि कुनै कसुर पुष्टि भएको बताएको छैन।





