३ मंसिर २०८३, बुधबार

एपेक सचिवालय प्रमुख : व्यापार नियम निर्माणमा मध्यम शक्ति राष्ट्रको भूमिका बढाउन चीनले सघाउन सक्छ

ड्रागन मिडिया समाचार कक्ष

चीनले क्षेत्रीय व्यापार नियम निर्माणमा ‘मध्यम शक्ति’ अर्थतन्त्रहरूको भूमिका बढाउन सहयोग गर्न सक्ने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सचिवालयका कार्यकारी निर्देशक एडुआर्डो पेड्रोसाले बताएका छन्। प्रविधिमा तीव्र परिवर्तन र आपूर्ति शृंखलाको फेरबदलबीच एसिया–प्रशान्त क्षेत्रमा व्यापार तथा लगानीका नयाँ नियम विकास गर्न पर्याप्त स्थान आवश्यक रहेको उनले बताए।

शेनझेनमा जारी एपेक सम्मेलनका क्रममा ग्लोबल टाइम्ससँग कुरा गर्दै पेड्रोसाले विश्व व्यापार संगठन, एपेक र क्षेत्रीय व्यापार संगठनहरू पहिले नै स्थापित भए पनि नयाँ नियम विकास हुने अवसर खुला राख्नुपर्ने बताए। चीनले यस्तो संवाद अघि बढाउन सघाउन सक्ने उनको भनाइ थियो।

एपेक प्रमुखका अनुसार चीनको आर्थिक रूपान्तरण र विस्तार हुँदै गएको बजारले विश्व आर्थिक व्यवस्थापनमा उसको भूमिका थप महत्त्वपूर्ण बनाएको छ। चीनको बढ्दो मध्यम आय भएको जनसंख्या र विस्तारित उपभोक्ता बजारले उसको अर्थतन्त्रलाई यसअघि एपेक कार्यक्रम आयोजना गर्दाको समयभन्दा बढी गतिशील र जटिल बनाएको उनले बताए।

नोभेम्बर १७ मा सुरु भएको एपेक सीईओ सम्मेलनमा २१ एपेक अर्थतन्त्र र बेलायत, फ्रान्स, जर्मनी तथा स्विट्जरल्यान्डसहित १३ गैर–एपेक अर्थतन्त्रका दुई हजारभन्दा बढी व्यावसायिक तथा राजनीतिक प्रतिनिधि सहभागी भएको सिन्ह्वाले जनाएको छ। चीनले आयोजना गरेको यस वर्षको एपेक सम्मेलनको मुख्य विषय ‘समृद्धिका लागि एसिया–प्रशान्त समुदाय निर्माण’ रहेको छ। खुलापन, नवप्रवर्तन र सहकार्यलाई यस वर्षका प्राथमिकताका रूपमा राखिएको छ।

पेड्रोसाका अनुसार, विखण्डित हुँदै गएको विश्व अर्थतन्त्र, आपूर्ति शृंखलामा परेको दबाब तथा ऊर्जा र खाद्यवस्तुको बढ्दो मूल्यबीच यी प्राथमिकता व्यवसायका लागि महत्त्वपूर्ण छन्। डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित नवप्रवर्तनले उत्पादन प्रक्रिया प्रभावकारी बनाउनुका साथै सार्वजनिक स्वास्थ्य क्षेत्रमा पनि सुधार ल्याउन सक्ने उनले बताए। प्रविधिको विकासबाट कोही पनि पछाडि नछुट्ने गरी समावेशी विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।

कम्पनीहरू ग्राहकका लागि प्रतिस्पर्धा गरे पनि आपूर्ति शृंखला प्रभावकारी बनाउन सहकार्यसमेत गरिरहेको पेड्रोसाले बताए। उनका अनुसार व्यवसायले पहिले अपनाउँदै आएको ‘ठीक समयमा उत्पादन तथा आपूर्ति’ प्रणालीबाट जोखिम आउँदा उपयोग गर्न सकिने अतिरिक्त भण्डार राख्ने अभ्यासतर्फ ध्यान दिन थालेका छन्। यसले आपूर्ति शृंखलालाई थप स्थिर र जोखिम सामना गर्न सक्षम बनाउन सक्छ तथा साना अर्थतन्त्रलाई विश्वव्यापी आपूर्ति शृंखलामा जोडिने अवसर दिन सक्छ।

एपेकको आगामी छलफलमा क्षेत्रीय व्यापक आर्थिक साझेदारी (आरसीईपी) र ट्रान्स–प्यासिफिक साझेदारीका लागि व्यापक तथा प्रगतिशील सम्झौता (सीपीटीपीपी) बीचको समन्वयलाई थप नजिक बनाउने विषय पनि रहनेछ। क्षेत्रीय सम्पर्क विस्तारका विषयमा एपेकको सन् २०१५–२०२५ को सम्पर्क खाकाअन्तर्गत भएका कामलाई अघि बढाउने विषयमा नेताहरूले छलफल गर्ने सिन्ह्वाले जनाएको छ।

एपेक नेताहरूको ३३औँ आर्थिक बैठक नोभेम्बर १८ र १९ मा शेनझेनमा हुँदैछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button