भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन दाहालको सुझाव

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन्। नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरेका छन्।
‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणलाई राष्ट्रिय हित प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका द्विपक्षीय कामलाई वर्तमान सरकारले निष्कर्षमा पुर्याउने अपेक्षा गरेको उनले बताए। विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पुर्याउनुपर्नेमा दाहालले जोड दिए। आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई निष्कर्षमा पुर्याउनु दुवै देशका लागि ऐतिहासिक उपलब्धि हुने बताए।
विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति कार्यान्वयन र कृषि विकाससम्बन्धी नेपाल–भारत समझदारीलाई अघि बढाउन पनि उनले आग्रह गरे। विगतका सहमति कार्यान्वयन भए दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र नेपालको आर्थिक विकासमा योगदान पुग्ने उनको भनाइ छ।
दाहालले वर्तमान सरकारका कामप्रति आफ्नो पार्टीको धारणा पनि स्पष्ट पारे। सरकारले राम्रो काम गरे सहयोग गर्ने र राष्ट्रिय हितविपरीतका काम भए आलोचना तथा खबरदारी गर्ने उनले बताए।
“प्रधानमन्त्रीले राम्रो काम गर्नुभयो भने हाम्रो सहयोग रहन्छ, तर राष्ट्रिय हितविपरीत काम भएमा हामी आलोचना गर्छौँ,” दाहालले भने।





