४ मंसिर २०८३, बिहीबार

सरकारले नेता र सञ्चारमाध्यममाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : भण्डारी

ड्रागन मिडिया सम्वाददाता

पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता, सार्वजनिक जीवनमा सक्रिय व्यक्ति र सञ्चारमाध्यममाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन्।

एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिलाई निशाना बनाउने, राजनीतिक असहमतिका आधारमा प्रहरी नियन्त्रणमा लिने र सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने गतिविधिले चिन्ता बढाएको बताइन्।

“लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्छ। राज्यका अंग र निकाय संविधानभन्दा माथि हुन सक्दैनन्,” उनले भनिन्। सरकारका निर्णय संविधान, कानुन र लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र रहनुपर्ने उनको भनाइ थियो।

कानुन उल्लङ्घन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण गर्नुपर्ने बताउँदै भण्डारीले कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने धारणा राखिन्।

उनले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र नागरिक समाजको मनोबल कमजोर पार्ने काम गर्न नहुने बताइन्। लोकतन्त्रमा सरकारको आलोचना र असहमति राख्ने अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै उनले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने बताइन्।

“अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, संवाद, सहकार्य र राष्ट्रिय सहमति हो,” उनले भनिन्।

राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण, आत्मनिर्भर अर्थतन्त्र निर्माण, सामाजिक न्याय र जनजीविकाका सवालमा आन्दोलनका लागि अग्रसर हुने पनि भण्डारीले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button