४ मंसिर २०८३, बिहीबार

मधेशमा नयाँ सरकार गठनका लागि जसपा नेपालका शीर्ष नेताहरू जनकपुरमा

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल तीव्र भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू पनि सरकार गठनको समीकरणबारे छलफल गर्न जनकपुरमा भेला हुँदैछन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर पुग्ने कार्यक्रम छ। वरिष्ठ नेता महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी भने बुधबार नै त्यहाँ पुगिसकेका छन्। पार्टीका नेताहरूले शीर्ष नेताबीचको छलफलले सरकार गठनबारे देखिएको गतिरोध हटाउन सक्ने अपेक्षा गरेका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएका छन्।

तर, नयाँ सरकार गठनका लागि गठबन्धन गर्ने वा अन्य विकल्प अपनाउने विषयमा दलहरूबीच औपचारिक सहमति जुटिसकेको छैन। त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अझै अनिश्चित छ।

नेकपा एमाले र नेकपाले जसपा नेपालले निर्णय नगर्दा सरकार गठनबारे अन्योल कायम रहेको बताउँदै आएका छन्। जसपा नेपालका एक नेताका अनुसार शीर्ष नेताहरूबीच बिहीबार अबेरसम्म जनकपुरमै छलफल गरी गतिरोध अन्त्य गर्ने प्रयास हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button