५ मंसिर २०८३, शुक्रबार

आतङ्कवादी समूहले कृत्रिम बुद्धिमत्ता दुरुपयोग गर्न सक्ने जोखिम: संयुक्त राष्ट्रसंघका अधिकारी

ड्रागन मिडिया समाचार कक्ष

आतङ्कवादी समूहले आफ्ना उद्देश्यका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न सक्ने जोखिम सम्बोधन गर्न आवश्यक कदम चाल्नुपर्ने संयुक्त राष्ट्रसंघका आतंकवादविरोधी कार्यवाहक उपमहासचिव अलेक्जेन्डर जुयेभले बताएका छन्।

“यस्ता चिन्ता जायज छन्। धेरै आतङ्कवादी समूहले साइबर प्रविधिसहित नयाँ प्रविधिमा पहुँच खोजिरहेका छन्। कृत्रिम बुद्धिमत्तामा उनीहरूको निश्चय नै चासो छ,” उनले टाससँगको कुराकानीमा भने।

सन् २०२१ मै संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी कार्यालयले एआई आपराधिक तथा आतङ्कवादी उद्देश्यमा प्रयोग हुन सक्ने जोखिमबारे प्रतिवेदन सार्वजनिक गरेको उनले स्मरण गरे। त्यसबेला यो विषयले अन्तर्राष्ट्रिय तहमा पर्याप्त ध्यान नपाए पनि अहिले अवस्था बदलिएको उनको भनाइ छ।

जुयेभले एआई सकारात्मक काममा पनि उपयोगी हुन सक्ने बताए। उनका अनुसार संयुक्त राष्ट्रसंघ र केही देशका गुप्तचर निकायले आतङ्कवादसम्बन्धी जोखिम तथा खतरा विश्लेषण गर्न यस्तो प्रविधि प्रयोग गर्छन्।

“तर यसको अर्को पक्ष पनि छ। आतङ्कवादीहरू पनि प्रविधि, प्राविधिक साधन र नवप्रवर्तनलाई आफ्ना उद्देश्यमा उपयोग गर्न प्रयासरत छन्। उनीहरूले निकै चलाखीपूर्ण तरिकाले काम गरिरहेका छन्। पछिल्लो समय साइबर आक्रमणका धेरै घटना भएका छन्,” उनले भने।

एआई जटिल र निरन्तर विकसित हुने विषय भएकाले यसको प्रगतिलाई निगरानी र विश्लेषण गर्दै सम्बन्धित जोखिम घटाउने उपाय बनाउनुपर्ने जुयेभले बताए।

यस सन्दर्भमा उनले संयुक्त राष्ट्रसंघीय महासभाले स्थापना गरेको एआई शासनसम्बन्धी विश्व संवादको महत्त्व औँल्याए। उक्त संवादको पहिलो बैठक जुलाईमा भएको थियो। अग्रणी विज्ञहरू सहभागी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानल पनि गठन गरिएको छ। संयुक्त राष्ट्रसंघ र आफ्नो कार्यालय यस कामको केन्द्रमा रहने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button