पार्टीलाई जानकारी नदिई विदेश गए एमाले नेतासँग स्पष्टीकरण मागिने

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जानकारी नदिई विदेश भ्रमणमा जाने नेतासँग स्पष्टीकरण मागिने बताएका छन्।
पार्टीको दुईदिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै ओलीले नेता तथा कार्यकर्ता अनुशासित हुनुपर्ने र आफूले गरिरहेका गतिविधि तथा भ्रमणबारे पार्टीलाई जानकारी दिनुपर्ने बताए।
“पार्टीका नेता–कार्यकर्ता अनुशासित हुनुपर्छ। कसले के गर्दैछ, कहाँ जाँदैछ भन्ने पार्टीलाई जानकारी दिनु जिम्मेवारी र कर्तव्य हो,” ओलीले भने, “अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ। जानकारी नभए पार्टीले स्पष्टीकरण सोध्छ।”





