एमाले राष्ट्रिय भेलामा ओलीले सुरक्षा व्यवस्थाप्रति चासो जनाए

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन्।
बिहीबार काठमाडौंमा भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा को प्रवेश गरिरहेको छ र कहाँसम्म पुगिरहेको छ भन्नेबारे स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए। आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरे। ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता बताएको ओलीले उल्लेख गरे।
“बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ। आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन,” उनले भने।
ओलीले अपरिचित व्यक्तिको प्रवेश र आवतजावत व्यवस्थित गर्न तथा सबै प्रतिनिधि र नेताले परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिए। बैठकका क्रममा अनावश्यक कुराकानी नगरी शान्त वातावरण कायम राख्न पनि उनले आग्रह गरे।





