सीले ट्रम्पसँग भेट्दै चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउन निरन्तर प्रयास गर्न आग्रह

ड्रागन मिडिया समाचार कक्ष
शेन्जेन, मङ्सिर ३ — चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै चीन–अमेरिका सम्बन्धलाई भविष्यतर्फ सही दिशामा अघि बढाउन दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नुपर्ने बताएका छन्।
ट्रम्प ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीनको दक्षिणी शहर शेन्जेन पुगेका हुन्। बैठक नोभेम्बर १८ र १९ मा आयोजना गरिएको थियो।
भेटमा सीले चीन–अमेरिका सम्बन्ध समग्रमा स्थिर र सकारात्मक बाटोमा अघि बढेको बताए। यसबाट दुवै देशका जनताले ठोस लाभ पाएको र विश्वमा स्थिरता तथा निश्चितता थपिएको उनको भनाइ थियो। दुई ठूला देशका रूपमा चीन र अमेरिकाले कसरी सम्बन्ध अघि बढाउने भन्नेबारे आफू र ट्रम्पले मिलेर उचित बाटो खोजेको, रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्धको नयाँ दृष्टिकोण तय गरेको तथा त्यसलाई सम्मान, निष्पक्षता र पारस्परिकतामा आधारित बनाएको उनले बताए।
यो नयाँ दृष्टिकोण दुवै देशका जनता र अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको सीले उल्लेख गरे। रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्नु अभूतपूर्व र अग्रगामी काम भएको बताउँदै उनले अहिलेको सकारात्मक गति कायम राख्न दुवै नेताबीच भएका सहमतिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
दुवै पक्षले रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्ध निर्माणका लागि कार्ययोजना बनाउने सहमति गरेका छन्। सीले आर्थिक तथा व्यापारिक विषयमा संवाद बढाउन, एकअर्काका चासोलाई सम्बोधन गर्न र पारस्परिक लाभका लागि काम गर्न आग्रह गरे।
लागुऔषध नियन्त्रण, गैरकानुनी आप्रवासीको स्वदेश फिर्ती तथा दूरसञ्चार र अनलाइन ठगीविरुद्धको सहकार्यले सकारात्मक परिणाम दिएको सीले बताए। सम्मान, निष्पक्षता र पारस्परिकताको आधारमा यी क्षेत्रमा सहकार्य थप विस्तार गर्न सकिने उनको भनाइ थियो।
कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिम रोक्न र एआई सधैँ मानव नियन्त्रणमा रहने सुनिश्चित गर्न दुवै देशले संवाद र समन्वय बलियो बनाउनुपर्ने सीले बताए।
ताइवानको विषयमा अमेरिकाले उचित कदम चालिरहनुपर्ने र चीन–अमेरिका सम्बन्धमा ठूलो अवरोध आउन नदिनुपर्ने उनले बताए।
ट्रम्पले आफू र सीले चीन–अमेरिका सम्बन्धको विकासलाई संयुक्त रूपमा अघि बढाएको र निकट सम्पर्क कायम राखेको बताए। दुवै नेताबीचको मित्रता अझ बलियो बन्दै गएको उनको भनाइ थियो। दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार भइरहेको र फेन्टानिल नियन्त्रणलगायतका विषयमा सहकार्यबाट परिणाम आएको पनि उनले बताए।
द्विपक्षीय सम्बन्धको सकारात्मक गति कायम राख्न तथा कृषि उत्पादन, ऊर्जा र “सुपर इन्टेलिजेन्स” लगायतका क्षेत्रमा सहकार्य बढाउन ट्रम्पले आग्रह गरे। अमेरिकाले “ताइवानको स्वतन्त्रता”लाई समर्थन नगर्ने उनले बताए।
एपेक नेताहरूको बैठक सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई दिँदै ट्रम्पले विश्व शान्ति र स्थिरता प्रवर्द्धन गर्न दुवै देशले मिलेर काम गर्नुपर्ने बताए।





