४ मंसिर २०८३, बिहीबार

भक्तपुरमा नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता सुरु, ३,२४५ खेलाडी सहभागी

ड्रागन मिडिया सम्वाददाता

भक्तपुरमा बिहीबारदेखि नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ। भक्तपुर नगरपालिकाले वार्षिक रूपमा आयोजना गर्ने प्रतियोगितामा नगरभित्रका ८४ सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार २४५ खेलाडी सहभागी छन्।

सात दिनसम्म चल्ने प्रतियोगितामा टेबलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथलेटिक्स, बुद्धिचाल, कराते, उसु र पोर्टेबललगायत १५ खेलमा प्रतिस्पर्धा हुनेछ। विजेता खेलाडी तथा टोलीलाई मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा १ हजार १०० भन्दा बढी मेडल र १०० भन्दा बढी ट्रफीका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

भक्तपुरको शहीद स्मृति खेलमैदानमा उद्घाटन भएको प्रतियोगिता मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवा तथा विद्यार्थी अवस्थादेखि नै शारीरिक स्वास्थ्यमा ध्यान दिन सके असल र सक्षम नागरिक बन्न सहयोग पुग्ने बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिक जीवनको अभिन्न अङ्ग बनाउन अन्तरविद्यालय प्रतियोगिता आयोजना, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन, सफल खेलाडीको सम्मान र उपयुक्त स्थानमा कभर्ड हल निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।

नगरपालिकाले वडा नं. ८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल र वडा नं. १० बेखालमा टेबलटेनिस कभर्ड हल निर्माण गरी प्रशिक्षण सञ्चालन गरिरहेको उनले जानकारी दिए।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र अनिवार्य बनाउन नसकिएको बताउँदै स्थानीय तहबाट भक्तपुर नगरपालिकाले गरेको अगुवाइको प्रशंसा गरे।

प्रतियोगिताको उद्घाटन र्‍याली भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट सुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो र दूधपाटी हुँदै शहीद स्मृति खेलमैदानमा पुगेर समापन भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button