एक महिनामै २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, आप्रवाह २७.२ प्रतिशतले बढ्यो

ड्रागन मिडिया सम्वाददाता
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८३ असोजसम्मको अवधिमा रेमिट्यान्समा वृद्धि भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको थियो। चालु वर्षको असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको असोजमा २ खर्ब १ अर्ब रुपैयाँ आएको थियो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स आप्रवाह २९.२ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६ खर्ब १० अर्ब रुपैयाँ थियो। रेमिट्यान्स र खुद ट्रान्सफरमा भएको वृद्धिले नेपालको बाह्य क्षेत्र सन्तुलनमा सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।
पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख २१ हजार ८७९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ लाख २३ हजार ४५९ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए।
त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ८२ हजार ३६९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ७७ हजार २५७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।




