युक्रेन वार्तामा युरोपको सहभागिताप्रति रुस सहमत रहेको कुशनरको भनाइयुक्रेन वार्तामा युरोपको सहभागिताप्रति रुस सहमत रहेको कुशनरको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुशनरले युक्रेन युद्ध अन्त्यका लागि प्रस्तावित बहुपक्षीय वार्तामा युरोपको सहभागिताप्रति रुस सहमत भएको बताएका छन्। उनका अनुसार उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सामूहिक प्रतिरक्षासम्बन्धी धारा ५ सरहको सुरक्षा प्रत्याभूति युक्रेनलाई दिने अवधारणाप्रति पनि मस्को सकारात्मक छ।
सिन्ह्वाका अनुसार युक्रेनलाई समर्थन गर्ने देशहरूको समूह ‘कोएलिसन अफ द विलिङ’ को बैठकपछि बिहीबार बर्लिनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा कुशनरले युरोप र रुसबीच प्रत्यक्ष संवाद पुनः शुरु गर्नुपर्नेमा जोड दिए। बेलायत र फ्रान्सको नेतृत्वमा रहेको उक्त समूहले युक्रेनलाई दिँदै आएको समर्थन थप बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
कुशनरका अनुसार हालको युद्ध अन्त्य भएपछि अर्को युद्ध हुन नदिने इच्छा मस्कोले व्यक्त गरेको छ। त्यसका लागि सुरक्षा प्रत्याभूतिसँगै त्यसको पालना अनुगमन गर्ने, उल्लङ्घन भएको दाबी पुष्टि गर्ने र नयाँ आक्रमण रोक्ने व्यवस्था आवश्यक रहेको उनले बताए।
कुशनरले धारा ५ सरहको प्रत्याभूतिलाई अमेरिकी दृष्टिकोणबाट महत्वपूर्ण कदम भने। त्यस्तो व्यवस्थाले अमेरिकी हित पूरा गर्ने भए राष्ट्रपति ट्रम्प त्यसबारे विचार गर्न तयार रहेको उनले बताए।





