५ मंसिर २०८३, शुक्रबार

जलवायु परिवर्तन र वासस्थान विनाशले चमेराबाट मानिसमा रोग सर्ने जोखिम बढाउन सक्छ: अध्ययन

ड्रागन मिडिया समाचार कक्ष

बढ्दो तापक्रम, अत्यधिक गर्मी र प्राकृतिक वासस्थान विनाशले चमेरा, मानिस र घरपालुवा जनावरबीच सम्पर्क बढाएर रोग सर्ने जोखिम बढाउन सक्ने एक अन्तर्राष्ट्रिय अध्ययनले औँल्याएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको समीक्षा चिकित्सा जर्नल ‘द बीएमजे’मा प्रकाशित भएको सिन्ह्वाले जनाएको छ।

अनुसन्धानकर्ताले इबोला, मारबर्ग, निपाह, हेन्ड्रा र अस्ट्रेलियाली चमेराको लाइसाभाइरससँग सम्बन्धित रोग कसरी सर्छन् र तिनको रोकथाम तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे उपलब्ध अध्ययनको समीक्षा गरेका हुन्।

समीक्षाका अनुसार वन फँडानी, शहरी क्षेत्रमा रूख कटान र कृषि क्षेत्र विस्तारले चमेराको वासस्थान खुम्च्याउन र आहारका श्रोत बदल्न सक्छन्। अध्ययनकी प्रमुख लेखिका जेसिका स्ट्यानहोपले यस्तो दबाबले चमेरालाई बदलिँदो वासस्थानमा अनुकूल हुन बाध्य पार्ने र मानिससँगको सम्पर्क बढाउन सक्ने बताइन्। अत्यधिक गर्मीका बेला बिरामी परेका वा मरेका चमेरासँग मानिसको सम्पर्क हुने सम्भावना पनि बढ्न सक्ने अनुसन्धानकर्ताको भनाइ छ।

अस्ट्रेलियाका पूर्वी राज्यहरूमा ‘फ्लाइङ फक्स’ भनिने फलाहारी चमेरा ठूलो संख्यामा मरेको समयमा यो समीक्षा सार्वजनिक भएको हो। अनुसन्धानकर्ताले आहार अभाव र प्रतिकूल मौसमलाई ती चमेराको मृत्युका सम्भावित कारण मानेका छन्। उनीहरूका अनुसार वासस्थान विनाश र जलवायु परिवर्तनले यी अवस्था चर्काउन सक्छन्।

भविष्यमा रोग फैलिने जोखिम घटाउन अनुसन्धानकर्ताले चमेराको प्राकृतिक वासस्थान संरक्षण र पुनर्स्थापना गर्न, संक्रमित जनावरसँगको सम्पर्क घटाउन तथा थप प्रभावकारी खोप र उपचार विकास गर्न सुझाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button