५ मंसिर २०८३, शुक्रबार

शेन्जेनमा चीन, रुस र अमेरिकाको त्रिपक्षीय शिखर बैठक, आणविक जोखिम घटाउन संवाद गर्ने सहमति

ड्रागन मिडिया समाचार कक्ष

चीन, रुस र अमेरिकाले आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्ने विषयमा संवाद अघि बढाउने सहमति गरेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार चीनको शेन्जेनमा भएको त्रिपक्षीय शिखर बैठकपछि जारी संयुक्त घोषणापत्रमा उक्त प्रतिबद्धता जनाइएको ग्लोबल टाइम्सले जनाएको छ।

‘शान्तितर्फ चीन–रुस–अमेरिका राष्ट्रप्रमुखहरूको घोषणापत्र’मा तीन नेताले आणविक युद्ध जित्न नसकिने र त्यस्तो युद्ध कहिल्यै लड्न नहुने अडान दोहोर्‍याएका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्यसमेत रहेका तीन देशले विश्वव्यापी चुनौतीलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको सुधार अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

घोषणापत्रमा प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने तथा ऊर्जा आपूर्ति स्थिर राख्ने विषय पनि समेटिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत र त्यस्तै निकायले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्न नहुने उल्लेख गर्दै तीन नेताले राज्यको सहमति र सरकारी पदाधिकारीलाई प्राप्त कानुनी उन्मुक्तिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनका क्रममा भएको बैठकलाई सीले तीन देशका राष्ट्रप्रमुखबीचको पहिलो प्रत्यक्ष त्रिपक्षीय भेट भने। उनले प्रमुख शक्तिहरूबीच पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक लाभमा आधारित सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्ने बताए। संवेदनशील विषयमा समयमै संवाद गर्न र एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा विकासको बाटो रोज्ने अधिकारको सम्मान गर्न पनि उनले जोड दिए।

ट्रम्पले तीन देशका नेताहरूबीच पहिलोपटक यस्तो त्रिपक्षीय भेट भएको भन्दै त्यसलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गरे। क्रेमलिनले सार्वजनिक गरेको भिडियोमा पुटिनले बैठक आयोजना गरेकोमा सीलाई धन्यवाद दिएका छन्।

बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका प्राध्यापक छुई होङजियानले नियमित संवाद र समन्वयले तीन शक्तिबीच गलत बुझाइ र तनाव घटाउन सघाउन सक्ने बताए। चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन संस्थानका अनुसन्धानकर्ता याङ सियुले बेइजिङले मस्को र वासिङ्टन दुवैसँग कायम राखेको कूटनीतिक सम्पर्कले त्रिपक्षीय बैठकको आधार तयार गरेको ग्लोबल टाइम्सलाई बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button