चीनमा ३ अर्ब ९५ करोड वर्ष पुरानो चट्टान भेटियो, एसियामा हालसम्मकै पुरानो

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ वैज्ञानिकहरूले उत्तरी चीनको हपेई प्रान्तमा करिब ३ अर्ब ९५ करोड वर्ष पुरानो चट्टान पहिचान गरेका छन्। लुलोङ काउन्टीमा भेटिएको यो चट्टान एसियामा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा पुरानो भएको ग्लोबल टाइम्सले जनाएको छ।
चीनको भूगर्भ सर्वेक्षण संस्थालाई उद्धृत गर्दै सीसीटीभीले ‘ग्रेनाइटिक नाइस’ प्रकारको यो चट्टान करिब १५ वर्गमिटर क्षेत्रमा सतहमा देखिएको जनाएको छ। वैज्ञानिकहरूले चट्टानमा रहेका जिरकोन खनिजका सूक्ष्म कणको विश्लेषण गरेर यसको उमेर निर्धारण गरेका हुन्।
पृथ्वीको उमेर करिब ४ अर्ब ६० करोड वर्ष मानिन्छ। त्यस आधारमा यो चट्टान पृथ्वी बनेको करिब ६५ करोड वर्षपछि बनेको हो। यो खोजसँगै चीनमा पहिचान भएको सबैभन्दा पुरानो चट्टानको अभिलेख १५ करोड वर्ष पछाडि पुगेको छ। क्यानडाको करिब ४ अर्ब वर्ष पुरानो अकास्टा नाइस र लुलोङमा भेटिएको चट्टानको उमेरमा करिब पाँच करोड वर्षको अन्तर छ।
चट्टानको रासायनिक संरचनाले करिब ३ अर्ब ९५ करोड वर्षअघि नै एउटा भूपर्पटीय प्लेट अर्को प्लेटमुनि धसिने आजको प्रक्रियासँग मिल्दोजुल्दो भूगर्भीय गतिविधि भएको हुन सक्ने सङ्केत दिएको छ। अध्ययनले करिब ४ अर्ब ३० करोड वर्षअघि नै पृथ्वीको बाहिरी ठोस तह अर्थात भूपर्पटी र त्यसमुनिको म्यान्टल छुट्टिने प्रक्रिया ठूलो स्तरमा शुरु भइसकेको हुन सक्ने देखाएको छ।





