मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

ड्रागन मिडिया समाचार कक्ष
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनसँग जोडिएको घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। करिब ६ सय जना विभिन्न सरकारी तथा निजी अस्पतालमा उपचाररत रहेको अल इन्डिया रेडियोलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
घटना मणिपुरको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्ने चन्देल जिल्लाको चाकपिकारोङ क्षेत्रमा भएको हो। प्रहरीले घटनाको अनुसन्धानका क्रममा छ जनालाई पक्राउ गरेको छ। मदिरामा विषाक्त पदार्थ मिसिएको थियो कि थिएन भन्ने पत्ता लगाउन नमुना विधिविज्ञान प्रयोगशालामा पठाइएको अधिकारीहरूले बताएका छन्।
स्थानीय अधिकारी हुङ्यो वोर्साङका अनुसार जिल्ला प्रशासन, प्रहरी, अन्तःशुल्क र स्वास्थ्य विभागका टोलीले प्रभावित क्षेत्र तथा अस्पताल पुगेर अवस्थाको आकलन गरेका छन्। मणिपुर सरकारले घटनाको कारण र सम्भावित कमजोरी पहिचान गरी आवश्यक कारबाही सिफारिस गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
मणिपुरको स्वास्थ्य विभागले जनस्वास्थ्यसम्बन्धी सूचना जारी गर्दै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएको छ। विभागले शंकास्पद बिरामीको तत्काल उपचार गर्न, आवश्यक परे अर्को स्वास्थ्य संस्थामा पठाउन र सम्बन्धित निकायलाई जानकारी दिन भनेको छ।





