क्यानडा नेटो नवप्रवर्तन कोषमा सामेल, उत्तर अमेरिकाबाट पहिलो सहभागी

ड्रागन मिडिया समाचार कक्ष
क्यानडा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को नवप्रवर्तन कोषमा औपचारिक रूपमा सामेल भएको छ। क्यानडाका राष्ट्रिय रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार वार्ता टुङ्गिएसँगै क्यानडा कोषमा सहभागी हुने नेटोको २५औँ सदस्य राष्ट्र र उत्तर अमेरिकाबाट पहिलो देश बनेको घोषणा गरेका हुन्।
क्यानडाको राष्ट्रिय रक्षा विभागलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार क्यानडाले कोषमा १० करोड क्यानडाली डलरभन्दा बढी योगदान गर्नेछ। यससँगै कोषले क्यानडाका नवउद्यम र लगानी कोषमा लगानी गर्न सक्नेछ।
रक्षा विभागका अनुसार क्यानडाको सहभागिताले रक्षा प्रविधिमा काम गर्ने क्यानडाली उद्यमी तथा अनुसन्धानकर्ताका लागि कोषसँग रहेको एक अर्ब युरोभन्दा बढीको लगानीयोग्य पुँजीमा पहुँच खुल्नेछ। यसले क्यानडा र नेटोका युरोपेली सदस्य राष्ट्रहरूबीच रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने बाटो पनि खोल्ने विभागले जनाएको छ।





