ट्रम्पद्वारा चीन भ्रमणको प्रशंसा, उन्नत चिप निर्यातमा रोक कायमै राख्ने संकेत

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसिया–प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक) को शिखर सम्मेलनका क्रममा चीनमा पाएको स्वागत र आयोजक सहर शेन्जेनको विकासको प्रशंसा गरेका छन्। नोभेम्बर २० मा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनसँग व्यापार र कृत्रिम बुद्धिमत्ताका क्षेत्रमा सहकार्यको सम्भावना औँल्याए। उन्नत चिपको निर्यातमा लगाइएका प्रतिबन्ध भने कायम राख्ने संकेत दिए।
ग्लोबल टाइम्सका अनुसार ट्रम्पले छोटो अवधिमै शेन्जेनले हासिल गरेको विकास, सडकको अवस्था र सहरी पूर्वाधारबाट आफू प्रभावित भएको बताए। उनले शेन्जेनमा देखेको सडक पूर्वाधारलाई केही अमेरिकी सहरका खाल्डाखुल्डी र जीर्ण सडकसँग तुलना गरे। चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गतको अमेरिकी अध्ययन संस्थानका अनुसन्धानकर्ता चाङ तङजुनले शेन्जेनको रूपान्तरणले ट्रम्पमा प्रभाव पारेको टिप्पणी गरे।
ट्रम्पले ‘सुपर इन्टेलिजेन्स’ भनिने उच्च क्षमताको कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने जोखिमका लागि अमेरिका र चीनले मिलेर सुरक्षाका उपाय तय गर्न सक्ने बताए। उनले अमेरिकी कम्पनीलाई विदेशमा डेटा सेन्टर बनाउन आफ्नो प्रशासनले अनुमति नदिने पनि बताए। चीनलाई पुरानो पुस्ताका चिप बिक्री गर्ने सम्भावना खुला राखेका ट्रम्पले अमेरिकाले आपूर्ति नगरे चीनले आफ्नै चिप विकास गर्ने धारणा व्यक्त गरे।
चीनको अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयका प्राध्यापक छुई फानले वासिङ्टनले प्रविधिमा आफ्नो अग्रता कायम राख्दै जोखिम व्यवस्थापनमा बेइजिङसँग सहकार्य खोजेको विश्लेषण गरे।
ट्रम्पले चीनसँग व्यापक व्यापार सम्झौता हुने आशा पनि व्यक्त गरे। समुद्री मार्ग हुँदै अमेरिका भित्रिने फेन्टानिल ९७ प्रतिशत घटेको दाबी गर्दै उनले त्यसलाई चीनसँगको सहकार्यको उपलब्धिका रूपमा प्रस्तुत गरे। छुईले साझा चासो भएका विषयमा व्यावहारिक सहकार्य सम्भव रहेको उदाहरणका रूपमा फेन्टानिल नियन्त्रणलाई औँल्याए।
यसैबीच, सिन्ह्वाका अनुसार शेन्जेनमा सार्वजनिक चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखहरूको घोषणापत्रमा आणविक युद्ध जित्न नसकिने र त्यस्तो युद्ध कहिल्यै लड्न नहुने अडान दोहोर्याइएको छ। तीन देशले आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्ने विषयमा संवाद गर्ने सहमति जनाएका छन्।





