माग पूरा नभएसम्म होर्मुज जलडमरू खोल्ने विषयमा छलफल हुँदैनः इरान

ड्रागन मिडिया समाचार कक्ष
इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानका माग पूरा नभएसम्म होर्मुज जलडमरू पुनः खोल्ने विषय छलफलमा नआउने बताएका छन्। इरानको सरकारी प्रसारण संस्थालाई उद्धृत गर्दै रुसी समाचार संस्था टासले उनको भनाइ सार्वजनिक गरेको हो।
अराघचीले इरान वार्ताका लागि खुला रहेको र आफ्नो रक्षाका लागि पनि तयार रहेको बताए। कतारको प्रतिनिधिमण्डलले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म तेहरानमा वार्ता गरेको थियो। इरान र अमेरिकाबीच मध्यस्थता गरिरहेका पक्षहरूले एकअर्काका प्रस्ताव पुर्याउन नियमित रूपमा भ्रमण गर्ने भएकाले कतारी प्रतिनिधिमण्डलको भ्रमण पनि त्यही प्रक्रियाको हिस्सा भएको अराघचीले बताए।
इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले नोभेम्बर १५ मा अमेरिकासँगको वार्ता प्रक्रियाप्रति इरानको विश्वास घटेको बताएका थिए। वासिङ्टनले सात सर्त पूरा गरे इरान संकट समाधान गर्न र होर्मुज जलडमरू खोल्न तयार रहेको जानकारी मध्यस्थकर्तालाई दिएको उनको भनाइ थियो।
कतारको विदेश मन्त्रालयले नोभेम्बर १७ मा मध्यस्थता प्रयासअन्तर्गत इरानी पक्षसँग अर्को बैठक भएको जनाएको थियो। अल अरबियाका अनुसार उक्त छलफलबाट कुनै निर्णायक सहमति जुटेन।





