युक्रेनका लागि युरोपेली संघको नयाँ ऋणमा स्लोभाकिया सहभागी नहुने

ड्रागन मिडिया समाचार कक्ष
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनका लागि युरोपेली संघ (ईयू) ले अघि सारेको नयाँ ऋण योजनामा आफ्नो देश सहभागी नहुने बताएका छन्।
टासका अनुसार फिकोले भिडियो सम्बोधनमा युक्रेनका लागि यसअघि अघि सारिएको ९० अर्ब युरोको ऋणमा पनि स्लोभाकिया सहभागी नभएको र नयाँ प्रस्तावमा पनि त्यही अडान कायम राख्ने बताए। उनले नयाँ ऋणमा सहभागितालाई ईयूको समग्र बजेटसँग जोडेर स्लोभाकियामाथि राजनीतिक दबाब दिइएको आरोप लगाए।
शान्ति वार्ताको सम्भावना देखिँदै गर्दा ईयूले युक्रेनलाई सहयोग गर्न अन्तर्राष्ट्रिय वित्तीय बजारबाट ४५ अर्ब युरो ऋण उठाउने र त्यसको जमानी बस्ने प्रस्ताव अघि सारेको भन्दै फिकोले आलोचना गरे। उनले उक्त रकम युक्रेनको युद्ध प्रयत्नमा खर्च हुने तर्क गरे।
फिकोले युक्रेनले यसअघिको ९० अर्ब युरो र भविष्यमा लिने ऋण पनि फिर्ता नगर्ने दाबी गरे। त्यस आधारमा उनले प्रस्तावित वित्तीय सहयोगलाई अनुदानसरह भएको टिप्पणी गर्दै स्लोभाकिया सहभागी हुनुपर्ने आधार आफूले नदेखेको बताए।





