ढाका उत्पादन र पशुपालनबाट रोजगारी सिर्जना गर्ने पाल्पाका दुई उद्यमी सम्मानित

ड्रागन मिडिया सम्वाददाता
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले १२औँ उद्योग दिवसका अवसरमा तानसेनका ढाका उद्यमी मनोजराज शर्मा पौड्याल र रामपुरका पशुपालक कृष्णकुमार अर्याललाई उत्कृष्ट उद्यमीका रूपमा सम्मान गरेको छ। स्थानीय उत्पादन र रोजगारीमा पुर्याएको योगदानको कदर गर्दै दुवैलाई जनही ३५ हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो।
तानसेन नगरपालिका–४ मा चार दशकदेखि पौड्याल ढाका उद्योग सञ्चालन गर्दै आएका पौड्यालले ४० जनालाई नियमित रोजगारी दिएका छन्। तीमध्ये अधिकांश महिला छन्। पाल्पाली ढाका कपडाका लागि नयाँ बुट्टा उनी आफैँ तयार गर्छन्। सरकारबाट आवश्यक सहयोग पाए ढाका उद्योगमा सयौँ जनालाई रोजगारी दिन सकिने उनको भनाइ छ।
रामपुर नगरपालिका–६ मा कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्र सञ्चालन गर्दै आएका अर्याल दुई दशकदेखि व्यावसायिक पशुपालनमा संलग्न छन्। उनको फार्ममा उन्नत जातका ५० वटा गाईभैँसी छन्। त्यहाँ चार जनाले नियमित काम गर्छन् भने कामको चापअनुसार थप १० देखि २० जनाले रोजगारी पाउँछन्। अर्यालका अनुसार पशुपालनकै आम्दानीले उनले छोरालाई एमबीबीएस र छोरीलाई नर्सिङमा स्नातक पढाउन सके।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरू वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले उद्यमीद्वयलाई सम्मान गरेका हुन्।





