नारच्याङमा हावाहुरीले घर र विद्यालयका छाना उडायो, अन्नपूर्ण आधार शिविर क्षेत्रमा १२ पाल उडे

ड्रागन मिडिया सम्वाददाता
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार चलेको हावाहुरीले घर र विद्यालयका छाना उडाउनुका साथै निर्माणाधीन कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको छ। अन्नपूर्ण आधार शिविर क्षेत्रमा पदयात्रीका लागि राखिएका १२ वटा पाल पनि हावाले उडाएको छ।
वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा रहेको भवन र स्थानीय महलबहादुर गर्बुजाको दुईतले घरको छाना उडेको छ। आसपासका बस्तीमा अन्य घरगोठमा पनि क्षति पुगेको छ। हावाले बोटबाट सुन्तला झार्दा किसानलाई समेत नोक्सानी भएको छ। वडाले क्षतिको विवरण सङ्कलन गरिरहेको फगामीले बताए।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार हावाहुरीले पञ्चकुण्ड ताल परिसर र भुसकेटमा टाँगिएका पाल उडाएको हो। यसले पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन कठिन भएको उनले बताए।
१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा खटिएका नेपाली सेनाका अधिकृत र जवानका आवास, भान्सा तथा अन्य संरचनामा क्षति पुगेको छ। आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार मंसिर ८ गते मध्यरातपछि करिब सवा १२ बजे शुरु भएको हावाहुरीले सैनिक शिविरमा करोडौँ रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवासका भित्ता तथा छाना पनि उडेका छन्।
शिविर मर्मत गर्न समय लाग्ने भएकाले सुरुङ खन्नेलगायत निर्माणका काम प्रभावित हुने श्रेष्ठले बताए। यसअघि असोजको दोस्रो साता वर्षापछि आएको बाढीपहिरोले मुस्ताङको सिमानामा निर्माणाधीन बाँधमा पनि क्षति पुर्याएको थियो।
हावाहुरीपछि सेना, प्रहरी, आयोजनाका प्रतिनिधि र स्थानीयवासीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका थिए। इलाका प्रहरी कार्यालय दानाले वडाध्यक्ष फगामीको रोहवरमा क्षतिको मुचुल्का तयार गरेको छ।





