बाँकेको फत्तेपुर प्रहरी चौकीलाई ४० लाख रुपैयाँमा बनेको पाँचकोठे भवन हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित प्रहरी चौकी फत्तेपुर (क) ले पाँचकोठे पक्की भवन पाएको छ। लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाले भवन निर्माणका लागि २०–२० लाख रुपैयाँ लगानी गरेका हुन्। गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नयाँ भवन प्रहरीलाई हस्तान्तरण गरे।
हस्तान्तरण समारोहमा अध्यक्ष पौडेलले नागरिकको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक पूर्वाधार उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए। प्रहरीलाई सुरक्षित र व्यवस्थित ठाउँबाट काम गर्न सहज होस् भनेर प्रदेश सरकारसँग मिलेर भवन निर्माण गरेको उनले बताए।
चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भूपतेन्द्र खड्काले नयाँ भवनबाट कार्यालयको दैनिक काम सञ्चालन गर्न र स्थानीयवासीलाई सेवा दिन सहज हुने बताए। इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख सुरेश कोइरालाले भवन निर्माणमा सहयोग गरेकामा प्रदेश सरकार र गाउँपालिकालाई धन्यवाद दिए।
वडाध्यक्ष रामलखन थारुले चौकीका लागि आवश्यक अन्य पूर्वाधार निर्माण गर्न पनि आफ्नो कार्यकालभित्र पहल गर्ने प्रतिबद्धता जनाए।





