१५ वर्षपछि बेनी फर्किएको नेपथ्यसँगै गाए हजारौँ दर्शकले

ड्रागन मिडिया सम्वाददाता
म्याग्दी र कालीगण्डकीको दोभानमा बुधबार साँझ नेपथ्यका गायक अमृत गुरुङले ‘आँगनैभरि’ गाउन थालेपछि बेनीको खुलामञ्चमा भेला भएका हजारौँ दर्शकले पनि स्वर मिलाए। १५ वर्षपछि बेनी फर्किएको समूहले करिब दुई घण्टा गीत सुनायो। स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठका अनुसार कार्यक्रम हेर्न म्याग्दीसँगै पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट पनि दर्शक आएका थिए।
साँझ ६ बजे मञ्चमा उक्लिएका गुरुङले तीन गीत गाएपछि बेनीसँग जोडिएका दुई पदयात्रा सम्झिए। करिब ३० वर्षअघि जोमसोममा गीतको छायाङ्कन सकेर उनी बेनी हुँदै पैदल पोखरा पुगेका थिए। अर्को यात्रामा पुर्खाले गाउँदै आएको शिरफुले भाका खोज्न उनी बेनीबाट रुकुमसम्म हिँडेका थिए। त्यही यात्राको प्रसङ्ग सुनाउँदै उनले ‘धौलागिरि’ गाए।
‘भेडाको ऊनजस्तो’, ‘जोमसोमे बजारमा’ र ‘खान्न म त लामपाते सुरती’ गाउँदा गुरुङ आफैँ पनि मञ्चमा नाचे। ‘उडायो रेलैले’ र ‘जीवन हो घामछाया’मा दर्शकले उनलाई स्वर दिए। प्रस्तुतिको अन्त्यतिर उनले देश निर्माणमा एकजुट हुन आग्रह गर्दै ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ सुनाए। त्यसपछि ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ गाउँदा पनि दर्शकले साथ दिए।
गीतका बीचमा गुरुङले गाउँका घर रित्तिँदै गएको र खेतबारी बाँझिँदै गएकोमा चिन्ता व्यक्त गरे। यसै प्रसङ्गमा उनले शहर र विदेशबाट पर्वतको बाँसखर्क फर्केर सुन्तला खेती गरिरहेका किसानको प्रशंसा गरे। उनले विभिन्न जातजाति, धर्म र समुदायबीचको सद्भाव जोगाउन र कठिन अवस्थामा रहेका मानिसलाई सघाउन आग्रह गरे।
गुरुङलाई मादलमा शान्तिबहादुर रायमाझी, ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए।





