१० मंसिर २०८३, बुधबार

देउवा पक्षलाई कांग्रेसको मूलधारमा फर्कन विश्वप्रकाश शर्माको आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्तालाई पार्टीको मूलधारमा फर्कन आग्रह गरेका छन्। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेका बेला शर्माले बुधबार फेसबुकमार्फत एकताको आह्वान गरेका हुन्।

शर्माले प्रतिक्रिया दिँदैमा मतभेद समाधान नहुने भन्दै आ–आफ्ना कमजोरीको समीक्षा पार्टीभित्रै गर्न आग्रह गरे। ‘हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ। मन माझौँ– घरभित्रै। मन जोडौँ– घरभित्रै,’ उनले लेखेका छन्।

शर्माले पार्टीको विधि, विधान र कार्यपद्धतिसँगै नेताहरूको प्रवृत्ति र मनस्थितिलाई पनि अहिलेको बहसका मुख्य प्रश्न मानेका छन्। एकताको आग्रहलाई देशको सरोकारसँग जोड्दै उनले लेखेका छन्, ‘आखिर हामी सबै जान्दछौँ– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button