पुनः पेश गरिएको अडियोबारे सांसद खगेन्द्र सुनारलाई जानकारी दिन अदालतको आदेश

ड्रागन मिडिया सम्वाददाता
काभ्रे जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा निवेदकले पुनः पेश गरेको अडियोबारे सुनारलाई जानकारी दिन र प्रमाण बुझेको कागज अदालतमा पेश गर्न आदेश दिएको छ। जनआस्थाका अनुसार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार उक्त आदेश दिँदै त्यसपछि मुद्दा नियमानुसार पेश गर्न भनेको छ।
निवेदक अधिवक्ता मनिषा गौतमले यसअघि विभिन्न कागजातसहित तीन घण्टा लामो अडियो राखिएको पेनड्राइभ अदालतमा पेश गरेको बताएकी छन्। गत असोजको दोस्रो साता अदालतका कर्मचारीले पेनड्राइभमा तीन मिनेटको मात्र अडियो रहेको बताएपछि गौतमले मिलेमतोमा प्रमाण गायब पारिएको आशंका व्यक्त गर्दै निवेदनसहित अडियो पुनः पेश गरेकी थिइन्।
अदालतको अवहेलना र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका सुनार यसअघि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।





